काठमाडौं। नेपालमा कोरोनाको कहर भुंग्रो जस्तो फैलिएको कारण आज जेठ १ गतेवाट लकडाउनमा अझ कडा गरिएको छ। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास खारेज गरेको छ। गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो।

मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी सबै पार खारेज गर्न निर्देशन दिएको हो। अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ। उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्ने भएको छ ।

पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयकाअनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पास अनिवार्य गरिएको छ। सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले सम्बन्धित नियामक निकायको पास अनिवार्य गरिएको छ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको पासबाट मात्र आवतजावत गर्न दिइने गृह मन्त्रालयले जनाएको छ। यसैवीच आइतवारवाट सवै बैंक तथा वितिय संस्थाका कार्यालय खोल्न दिइएको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकका सिमित शाखा मात्र संचालन गर्न र गराउन सिमित कर्मचारीलाई पास उपलव्ध गराएको छ।


प्रकाशन मिति–२०७७ जेठ १ गते विहीवार ।