काठमाडौं। विश्वभर आतंकित बनाइरहेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ।

कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यसैबीच, कतार एयरवेजले इटलीका लागि सबै उडान बन्द गरिसकेको छ। कतारमा १५ जना कोराना भाइरस संक्रमित भएको र जसमध्ये ३ जना आप्रवासी कामदार रहेको कतार सरकारले जनाएको छ। यद्यपि, ती कुन देशका नागरिक हुन् भन्नेबारे खुलाइएको छैन।

कतारमा झन्डै चार लाख नेपालीसहित सयभन्दा बढी मुलुकका कामदार रहेका छन्। कतार सरकारको यो निर्णयवाट बैदेशिक रोजगारीमा जान ठिक्क परेका नेपालीहरु प्रभावित हुने भएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल फागुन २६ गते सोमवार ।