काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन्। यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन्। यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ। यद्यपि, उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएको अनलाइन खवरले लेखेको छ। सोमबार नेपाली दूताबास भने बन्द थियो। त्यसैले कोरोनाबाट संक्रमित नेपालीबारे थप जानकारी प्राप्त भएको छैन्।

यस्तै अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । ‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था छैन्।

यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ। दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।

यता कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। कतार नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक हो। तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ।

सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट सम्पर्क गर्न आग्रह गरेको छ। दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न भनेको छ। हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २७ गते मंगलवार ।