काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासका कारण औषधि आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले छलफल गरेको छ। नेपाल अौषधी ब्यबसायी संघ लगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ र अन्य संघ संस्थाहरुसंग मंगलबार छलफल गरेको हो।

औषधि व्यवसायी प्रशान्त मानन्धरका अनुसार, बैठक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थितिमा छलफल कार्यक्रम भएको थियो। छलफल कार्यक्रममा नेपाल अौषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको नेतृत्वमा औषधि व्यवसायीहरुले सहभागिता जनाएका थिए।

अध्यक्ष श्रेष्ठले संघको तर्फबाट औषधिको सहज र सुलभ तरिकाबाट आपूर्तिको सुनिश्चितताको प्रतिबद्धता जनाएका थिए। साथै भारतले निर्यातमा लगाएको अस्थाई बन्देजका कारण नेपालमा औषधिको आपूर्तिमा परेको समस्यालाई मध्यनजर राखेर सरकारको तर्फबाट छिटोभन्दा छिटो भारत सरकारसंग बार्ता गरेर बाधा अड्काउ–फुकाउन आग्रह समेत भएको औषधि व्यवसायी मानन्धरले भनेका छन्। नेपाल सरकारबाट यसतर्फ शिघ्र कार्य सम्पादन गर्ने प्रतिबद्धता जाहेर भएको थियो।
प्रकाशन मिति–२०७६ साल फागुन २७ गते मंगलवार ।