वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप बने या नबनेपनि अमेरिका बन्दमा रहन नसक्ने प्रष्ट गरेका छन्।

व्हाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्नसक्ने उल्लेख गर्दै ट्रम्पले केही गरी खोप नबने पनि अर्थतन्त्र सञ्चालन गरिने बताएका छन्।

विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त गर्न सकिने बताइरहेका बेला ट्रम्पले प्रष्ट गरे, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ।’

ट्रम्पले थपे, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ।’

ट्रम्पले युद्धस्तरमा खोप निर्माण अभियान चलिरहेको भन्दै उनले यो दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै भएको उल्लेख गरेका छन्।

यही वर्षभित्र खोप वा औषधि पत्ता लाग्ने बताउँदै आएका ट्रम्पले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किनु पर्ने जिकिर गरेका छन्। विश्वभर अहिले एक सयभन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ। केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन्।

पत्रकार सम्मेलनमा ट्रम्पले ‘अपरेशन वार्प स्पीड’ अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने बताए। विस्तारित र तीव्र गतिको अभियान अपरेशन वार्प स्पीड म्यानहटन प्रोजेक्टपछिको सबैभन्दा ठूलो अभियान भएकाले यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने जनाइएको छ।

ट्रम्पले यो अभियानको नेतृत्व सैनिक जनरल र स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिएका छन् । औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइ यस अभियानका नेतृत्वकर्ता हुन् । आर्मी जनरल गुस्तावे पेर्ना भने चिफ अपरेशन अफिसर हुन्।

कार्यक्रममा उपस्थित स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुने विश्वास रहेको उल्लेख गरेका छन्। अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ८८ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने १४ लाख ८४ हजारभन्दा बढी संक्रमित छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।