काठमाडौं। चीन लगायतका विभिन्न देशमा कोरोनाभाइरसको प्रकोपको कारण भकाभक मानिसहरुको मृत्यु भएयता विश्व शेयर बजारमा त्यसको व्यापक असर परेको छ।

बीबीसी नेपाली सेवाका अनुसार, विश्व शेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ। कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण विश्वको शेयर बजार ओरालो लागेको छ। लण्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ।

एशियाली शेयर बजारमा झन् ठूलो असर परेको छ। लगानीकर्ताहरूमा कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डर देखिएको छ। इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले पहिले अपेक्षा गरिएभन्दा ठूलो असर देखिन सक्ने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन १६ गते शुक्रवार ।