काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमणको कारण आक्रान्त रहेको छ। कोरोनाको महामारी विरुद्ध यतिखेर विश्व लडिरहेको छ। यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्। कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ। जसमा एक नेपाली पनि परेकी छन्। कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा बसेर उत्कृष्ट काम गर्ने विश्वका पाँच महिलामा एक महिला नेपालवाट डा रुना झा परेकी हुन।

डा.रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक पदमा कार्यरत रहेकी छन्। डा.झाले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छन्। उनी र उनको टोलीले औसतमा दैनिक ७० वटा नमुना परीक्षण गर्ने गरेको छ। प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ। उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।

डा.झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ। यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।
आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।
(यूएन वुमेनको समाचार सहयोगमा)
प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।