काठमाडौं। दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला पठाइएको छ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका समाजसेवी अधिकारीले आज तारकेश्वरका आठवटै स्वास्थ्य केन्द्र अन्तर्गत सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि ९ थान पिपिई तथा एप्रोन सेटका साथ मास्क, साबुन, ग्लब्स लगायत सरसफाइका सामग्री गिरिजा प्रसाद कोइराला फाउन्डेसन तारकेश्वर गाउँपालिका कमिटी मार्फत वितरण गर्ने गरी फाउन्डेसनका गाउँपालिका संयोजक निकेश अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, तारकेश्वरको उत्तरी छिमेकमा पर्ने म्यागङ गाउँपालिकाका ६ वटै वडामा सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेटका साथ सर्जिकल ग्लब्स लगायत स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष आशा तामाङ मार्फत वितरण गर्ने गरी आज आइतवारै नुवाकोट पठाइएको समाजसेवी अधिकारीले बताएका छन्।

यसैबीच, अधिकारीकै पहलमा  काठमाडौंको ठमेल ठमेल क्षेत्रका श्रमिक वर्गमा राहत वितरण सुरु गरिएको छ। ६ साता लामो लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका ठमेल क्षेत्रका श्रमिक वर्गमा अधिकारी नेतृत्वको समूहले आज आइतवार नै राहत स्वरूप १८० केजी चामल, दाल, तेल लगायत खाद्य सामग्री वितरण गरेको न्यूजलाइन्सनेपालका अध्यक्ष तथा प्रकाशक राजु भट्टले भिजन संसार डटकमलाई बताएका छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।