काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १५ ले दैनिक औसतमा १ हजार ७ सय ५० जनालाई निःशुल्क खाना खुवाइरहेको छ। यस अघि ४ ठाउँबाट सामूहिक मेस चलेकोमा आज आइतवारबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामूहिक खाना खुवाउने प्रबन्ध मिलाएको काठमाडौं महानगरपालिका वडा नंबर १५ का लोकप्रिय वडा अध्यक्ष ईश्वरमान डंगोलले बताएका छन्।

वडा अध्यक्ष डंगोलका अनुसार, कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरिएको हो । यस ठाउँबाट अहिले पनि औसतमा दैनिक ६०० व्यक्तिले खाना खाइरहेका छन् । यससँगै बुद्धपार्कबाट दैनिक ३५० जनालाई, चमतीबाट ४०० जनालाई खाना खुवाइँदै आएको छ ।

वडाको श्रोतमा स्थानीय दाताहरुले उपलब्ध गराएको सामाग्री मिलाएर सञ्चालन भइरहेको सामूहिक मेसको आइतवार काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य र संघीय सांसद जीवनराम श्रेष्ठले निरीक्षण गरेका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।