काठमाडौं। भारतमा ३७ जना नेपाली महिलाहरुको उद्धार भएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको हो। मानव तस्करको गिरोहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी मुलुकमा लैजाने क्रममा भारतका बिभिन्न स्थानसम्म पुर्‍याएको थियो।

सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो। मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो। ती सात महिलाहरुसँगै भारतसम्म पुर्‍याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएका छन् जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ। उनीहरुलाई आकर्षक तलबको लोभ देखाइएको थियो। नेपालको अन्तरराष्ट्रिय विमानस्थल प्रयोग नगरिकन सडकमार्गवाट नेपाली महिलाहरुलाई भारतको विमानस्थल प्रयोग गराएर खाडी मुलुक लाने कार्य मानव तस्करहरुवाट भैरहेको छ।

खाडी मुलुकमा आकर्षक जागिरको लोभ देखाएर उनीहरुलाई देह व्यापारमा लगाउने गरेको खुल्ने गरेको छ। त्यसरी खाडी मुलुक पुग्ने नेपाली महिलाहरुले त्यहां नारकीय जीवन बाँच्न बाँध्य बनाइने गरेको पनि उनीहरुको कारुणिक चित्कारले पनि खुलासा हुंदैआएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ७ गते बुधवार ।