काठमाडौ। नेपालका प्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले नयाँ कार्य समितिको गठन गरेको छ ।

Late Bashu Shasi
Late Bashu Shasi

वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिको उपाध्यक्ष हिरण्यकुमारी पाठक, सचिव प्रद्युम्न जोशी, कोषाध्यक्षमा, श्याम प्रधान मनोनित भएका छन्। सदस्यमा ध्रुर्व मधिकर्मी, रमेश रेग्मी, नीना जोशीलाई पनि मनोनित गरिएको छ।

परिषद्को सल्लाहकारमा कालीप्रसाद रिजाल, डा. कुमारबहादुर जोशी, योगेश वैद्य रहेका छन्। संरक्षकमा जुलुम वैद्य रहेकी छन्। साधारण सभाले परिषद्को आ.व. २०७२÷७३ को आय व्यय अनुमोदन पनि गरेको छ।

परिषदका सचिव प्रद्युम्न जोशीव्दारा जारी विज्ञप्ति अनुसार,परिषद्ले यही चैत्र १३ गते वरिष्ठ कवि एवं नाटककार वासु शशीकोे ८१ औ जन्म जयन्तीको अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरी मनाउने भएको छ। वि.सं.२०५० सालमा स्थापित परिषद्ले हालसम्म डेड दर्जन स्रष्टाहरूलाई पुरस्कार र एक दर्जन स्रष्टाहरूलाई सम्मानित गरिसकेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ३० गते सोमवार ।