काठमाडौं। नेपालकै पहिलो व्यावसायिक निजी प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा विशेषांक प्रकाशन गरेको छ। पब्लिकेसन्स्ले नजिकिँदो गाईजात्रा पर्वका अवसरमा आफ्नो लोकप्रिय सिने मासिक कामनामा गाईजात्रा विशेषाङ्क प्रकाशन गरेको हो।


विसं.२०४१ साल मंसिर १५ गतेबाट निरन्तर कामना सिने मासिक प्रकाशनमा ल्याउँदै आएको कामना पब्लिकेसन्स् विभिन्न नयाँ कार्यक्रम र थालनीका साथ स्थापनाको ४०औं वर्ष मनाउने क्रममा छ । यसै क्रममा यस वर्षको कामना गाईजात्रा विशेषांकलाई स्थापना कालदेखिकै विशेष अंकका रूपमा प्रकाशन गरेको पब्लिकेसन्स्ले जनाएको छ। पब्लिकेसन्स्ले स्थापनाको शुरुआती समयदेखि प्रकाशन गर्दै आएको कामना गाईजात्रा विशेष अंकलाई सधैंझैं यस वर्ष पनि निरन्तरता दिँदै ३६५औं पूर्णांकका रूपमा बजारमा ल्याएको हो।


यस वर्षको कामना गाईजात्रा विशेषांक भाद्र ५ गते मंगलबारवाट प्रकाशनमा आएको छ । पब्लिकेसन्स्ले वर्षभरिको शोक भुलाउने पर्वका रूपमा प्रचलित गाईजात्रा पर्वको महत्व र परम्परालाई जीवित तुल्याउन हरेक वर्ष कामना गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्स्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पब्लिकेसन्स्ले बोल्नसमेत डराउनुपर्ने निरंकुश पञ्चायत कालमा समेत हास्यव्यंग्य लेख तथा व्यंग्य चित्रका माध्यमले तत्कालीन राज्य व्यवस्था तथा विकृति र विसंगतिमाथि तीखो व्यंग्य गरेको थियो । कामना गाईजात्रा विशेषांकले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि पनि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै आएको छ । साथसाथै हासो र ठट्टाको विशेष अंकका रूपमा पाठकमाझ यो लोकप्रिय बन्दै आएको छ ।


पाठककै चाहना र माग तथा गाईजात्राको अवसरमा गरिने हासो र ठट्टासँगै पर्वको महत्व र परम्परालाई निरन्तरता दिँदै गाईजात्रा संस्कृतिको संरक्षण र संवद्र्धनका लागि गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले बताएका छन् । कामना गाईजात्रा विशेषांकमा हरेक वर्ष देशको राजनीतिदेखि सामाजिक अवस्थाको चित्रण गर्ने गरिएको र ४०औं वर्षको यस वर्षको विशेषांक अझ विशेष रहेको श्रेष्ठको भनाई छ ।


कामनाका सम्पादक विदुर गिरीका अनुसार गाईजात्रा पर्वको परम्परा र संस्कृतिप्रति चिन्तनशील देशकै दर्जनौं ख्यातिप्राप्त व्यंग्य लेखक तथा व्यंग्य चित्रकारहरूले कामना गाईजात्रा विशेषांक प्रकाशनका लागि साथ दिँदै आएको छ । उहाँहरूकै साथ–सहयोगले कामना गाईजात्रा विशेषांक निरन्तर प्रकाशनमा ल्याउन सम्भव भएको सम्पादक गिरीले भनेका छन् । यस वर्षको कामना गाईजात्रा विशेषांकमा पनि देशका दर्जनौं व्यंग्य लेखक, हास्यव्यंग्य कलाकार र कवि तथा व्यग्य चित्रकाहरुको सयौं चोटिला सिर्जना पढ्न र हेर्न पाइने पब्लिकसेसन्स्ले जनाएको छ । कुल ७६ पृष्ठको कामना गाईजात्रा विशेषांकको मूल्य १ सय ५० रुपियाँ राखिएको छ ।


देशका विभिन्न क्षेत्रका विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ भने यस अवसरमा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यंग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गरिने परम्परा छ । यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार दिलाउन प्रेरित गर्न राजा प्रताप मल्लले शुरू गरेको जनविश्वास छ ।