काठमाडौं। आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व परेको छ। चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने कार्य भएको छ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरेपनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय रहेको कारण तिनको अन्त गर्न घोडेजात्रा पर्व चलाएको किंबदन्ती रहेको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने परम्परा रहेको छ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २२ गते शुक्रवार ।