काठमाडौ। साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज आइतवार घण्टाकर्ण अर्थात गठामुंगः पर्व परेको छ। नेवार समुदायले आजको यस पर्वलाई घर शान्तिको कामना गर्दै घण्टाकर्ण गठामुंगः राक्षसलाई धपाउने पर्वको रुपमा मनाउने गरिन्छ। नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवार समुदायको मौलिक पर्वमध्येको एक हो।

वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो। यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ।

यस दिन नेवार समुदाय एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेवको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने प्रचलन रहेको छ। घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ।

काँचो माटोको सानो दहीको कतारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत मन्छाउने कार्य भनिन्छ।

बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ। बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ ।

घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ । त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ।

छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ ।

यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको मानवाकृति युक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठ्ड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतिलाई नजिकको खोलामा लगेर जलाइन्छ।

यस पर्वलाई किसानको “सिनाज्या ब्यंकेगु” (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुवात भएको सङ्केत पर्वका रुपमा पनि लिने गरेको छ।


प्रकाशन मिति–२०७७ साल साउन ४ गते आइतवार ।