काठमाडौं। बेलायतवाट निर्माण हुने कृतिमा आधारित चलचित्र कैदीको–पत्रको गीत रेकर्डिङ कार्य नेपालमा भएको छ। नेपालका संगीतज्ञ तथा चर्चित संगीतकार सुरेश सेन्चुरीको संगीतमा चलचित्र कैदीको–पत्रको चारवटा गीतको रेकर्डिङ कार्य भएको हो।

आधा दर्जनभन्दा बढी चलचित्रमा हिट गीत–संगीत दिइसकेका संगीतकार सेन्चुरीको संगीतमा चार गीतको रेकर्ड भएको हो। काठमाडौंको जमलस्थित डोरेमी संगीत रेकर्डिङ स्टुडियोमा चलचित्र कैदीको–पत्रको गीत रेकर्ड गरिएको जानकारी संगीतकार सेन्चुरीले भिजन संसार डटकमलाई दिएका छन्।

संगीतकार सेन्चुरीका अनुसार, चलचित्र कैदीको–पत्रका चार गीतमा ख्यातिप्राप्त गायिका अन्जु पन्तदेखि नेपाल आइडल सेकेण्ड रनरअप प्रताप दास तथा शिवानी मोक्तान र सागर आलेको गायन रहेको छ। म्युजिक एरेञ्ज गोपाल रसाइलीले गरेका छन्।

गीत सनम कुमार बैरागले लेखेका हुन्। बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्र कथा संग्रहको मुख्य कथा कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको निर्देशन बेलायतमा नै रहेका अग्रज कलाकार तथा निर्देशक सनम कुमार बैरागको निर्देशनमा चाँडै निर्माण हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।