काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा सन् २०१४ यता झण्डै २४ अर्ब नेपाली रुपैयाँबराबरको खर्च स्वाहा भएको विवरण सार्वजनिक भएको छ। मोदीको भ्रमणको क्रममा हवाई विमानहरुको मर्मत, चार्टर तथा हटलाइन सुविधाको लागि उक्त रकम खर्च भएको भारतको सरकारले जनाएको छ।

चार वर्षको अवधिमा मोदीले गरेका भ्रमणहरुमा झण्डै १७ अर्ब ५० करोड बराबरको रकम मोदीको विमानको मर्मतकालागि खर्च भएको थियो। बाँकी छ अर्ब ५० करोडबराबरको रकम मोदीको विमानको चार्टर तथा हटलाइनका लागि खर्च भएको हो।

मोदीले पछिल्लो चार वर्षमा विभिन्न ४२ विदेश भ्रमण गरेका थिए। जसमा ८४ मुलुकहरुको भ्रमण गरेका थिए। मोदी सन् २०१४ को मे महिनामा भारतको प्रधानमन्त्री बनेका थिए। यद्यपि अहिले सार्वजनिक भएको विवरणमा सम्पूर्ण खर्च भने समावेश नगरिएको बताइएको छ।

(भारतीय समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७५ साल साउन ४ गते शुक्रबार ।