काठमाडौं। सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर सर्वसाधारण मानिसबाट करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

भाइबर, ह्वाट्स एप, इमो, फेसबुकलगायतका सामाजिक सञ्जालबाट चिठ्ठा परेको तथा पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगी गर्ने तथा ठगी गरेको रकम नेपालका विभिन्न बैंकको सिस्टम ह्याक गरी कारोबारमा संलग्नलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दोलखा, फुलुवाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नागरपालिका १७ का ३७ वर्षीय विश्वेश्वर प्रसाद तिवारी र सोही स्थानका १९ वर्षीय सन्दीप कलवार रहेका छन् । अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नाइजेरियन र भारतीय नागरिकहरुले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरुलाई एजेन्ट बनाइ लामो समयदेखि सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्दै आएको प्रहरीको दावी छ। उनीहरुले नेपालका बैंक तथा वित्तिय संस्थासमेत ह्याक गरी उक्त ठगी तथा ह्याक गरेको रकम विभिन्न बैंक तथा वित्तिय संस्थामार्फत् कारोबार गर्नुका साथै उक्त रकमको १५ देखि २० प्रतिशत नेपाली नागरिकलाई दिने र बाँकी विभिन्न माध्यमबाट भारत पठाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कृषि विकास बैंक, पानश रेमिट ह्याक भएका थिए। जसका लागि विभिन्न १७ वटा बैंक प्रयोग भएका थिए । अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाकाका अनुसार विदेशमा रहेको गिरोहले नेपाली एजेन्टलाई विभिन्न बैंकमा खाता खोल्न लगाएर कारोबार गर्ने गरेका थिए।

एसएसपी थापाका अनुसार ह्याकरको उक्त समूहले यस्तो कामका लागि ४० भन्दा बढी नेपाली एजेन्टहरु परिचालन गरेका थिए। प्रहरीका अनुसार हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैया शंकास्पद रुपमा कारोबार भएको देखिएको छ। यसैबीच, १५ जना अनलाईन ठगीका पीडित सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। प्रहरीको अनुसन्धानमा ३४ जना नेपालीहरु अनलाईन ठगीमा संलग्न रहेको देखिएको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २५ गते बुधवार ।