काठमाडौं। चैत लागेपछि विदेशबाट आएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवैको कोरोना परिक्षण गरिने भनेको हो।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना संक्रमितहरुका आफन्त तथा उनीहरुको सम्पर्कमा आएका सबैको परिक्षणका लागि टोली खटाएको बताएका छन्। उनीहरुको आरडिटि प्रविधिबाट परिक्षण गर्ने र त्यसमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गरिने पनि भनेका छन्।

यस्तै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना संक्रमण नदेखिएको भन्दै डा.देवकोटाले हाल देशभर १ सय १३ जना आइसोलेसन कक्षमा रहेको जानकारी दिए।

एनएमबि ग्रुपले हरेक प्रदेशमा १ सयका दरले पीपीई वितरण गर्न ७ सय पीपीई दिएको र नेपाल भारत मानव विकास मैत्री संघले समेत ३ सय पीपीई उपलव्ध गराएको डा.देवकोटाले खुलासा गरेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।