काठमाडौ। गलामा पहिराई दिएको त्यो विजयको माला तथा निधारमा लाइदिएको सफलताको रातो टीका जति सरल र सहज देखिन्छ। त्यति नै भारी तथा महंगो र जिम्मेवारीको प्रतिक हो। जसलाई बुझेर जिम्मेवारी पूरा गर्दछ। त्यो नै महान हुन। त्यसको मूल्य तिर्न सक्ने नै सही जनताको जनप्रतिनिधि हो। अनि जनप्रतिनिधिले धेरै कुरा होइन। काम गरेर देखाउनु पर्दछ।

काम गरेर देखाउन सकेमा मात्र जनताले भारी मतले जिताएको अर्थ हुन सक्ने र आफू जनताको लागि काम गर्न जनताले जिताएको दावी काठमाडौ क्षेत्र नंबर ९ वाट भारी मतका साथ विजयी बनेका नवनिर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठले गरेका छन्।

काठमाडौको बल्खुस्थित कमल अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भएको सम्मान कार्यक्रममा नेकपा एमालेका प्रभावशाली नेता समेत रहेका नवनिर्वाचित प्रतिनिधिसभाका सांसद श्रेष्ठले पाँच बर्षका लागि काठमाडौ क्षेत्र नंबर ९ का जनताले सांवा–ब्याज तथा बोनस समेत दिएर आफूलाई भारी मतले जिताएको र काठमाडौ क्षेत्र नंबर ९ का जनताका आशा तथा विश्वासलाई सदा शिरमा राखेर काम गरेर देखाउने कसम नै खाएका छन्।

सम्मान कार्यक्रममा आयोजक कमल अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल रामकृष्ण तण्डुकार लगायत विद्यालय परिवारले सांसद श्रेष्ठलाई भव्य रुपमा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका अत्यन्त लोकप्रिय विजयी प्रदेशसभासद डा.अजयक्रान्ति शाक्यलाई पनि सम्मान गरिएको थियो।

कमल स्कुलले सोही सम्मान कार्यक्रमका साथमा डान्स कमल डान्स कम्पिटिसन तथा कम्बोडियामा आयोजित खेलकुदमा उत्कृष्टता हासिल गरेर नेपालकै इज्जत राख्न सफल स्कुलका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७४ साल पुष ७ गते शुक्रबार ।