काठमाडौं। काठमाडौंको ताहाचल स्थित ताहाचल उपभोक्ता पसलकी प्रोप्राइटर आरती थापाले ३ नंबर प्रदेशका सभासद राजेश शाक्यलाई चिनी प्रतिकेजी ७८ रुपैयामा बेचेवापत ५ हजार जरिवाना गरेको समाचार सरासर झुठ भएको भनेकी छन्।

ताहाचल उपभोक्ता पसल आफ्नो भएको र आफूले बेचेवापत बाणिज्य विभागले आफूलाई जरिवाना गरेको प्रोप्राइटर थापाले भिजन संसार डटकमलाई स्थलगत रिपोर्टिङका क्रममा बताएकी हुन्। प्रोप्राइटर थापाले आफूले प्रतिकेजी ७० रुपैया तिरेर ल्याएको चिनीमा यातायात भाडा सहित जोडेर १० प्रतिशत मार्जिन राखेर ७८ रुपैयामा बेचेको स्वीकार गरेकी छन्।

७० रुपैया प्रतिकेजीमा खरिद गरेर ल्याएको बील हुंदाहुंदै पनि खरिद गरेको स्थानवाट प्यान-भ्याट बील नदिएको हुंदा आफू कारवाहीमा परेको पनि प्रोप्राइटर थापाले भनेकी छन्। अर्कोतर्फ दुई दिन अगाडि मात्र ल्याइएको कोक–फ्यान्टाको म्याद गुज्रेको आफूले हेक्का गर्न नसक्दा अनुगमनका क्रममा कारवाही भएको बताउंदै थापाले सभासद शाक्यले अनुगमन भैरहेको बेलामा के भएको भनेर बुझ्न मात्र आएको र नियम विपरित भएको भए कानून बमोजिम गर्नु भनेर संझाई–बुझाई मात्र गरेको भनेकी छन्।

ताहाचल उपभोक्ता पसल सभासद शाक्यको नभइकन नितान्त आफ्नो भएको र यस पसलमा सभासद शाक्यको कुनैपनि लगानी नभएको प्रोप्राइटर थापाले भनेकी छन्। सभासद शाक्य छिमेकमा रहेको सभासद भएको कारण उहाँ सामान किनमेलको क्रममा आउने गरेको तथा टोल–समाजमा कसैलाई केही परेमा सहयोग गर्न कुनै कसर वाँकी नराख्ने असल नेता भएको पनि प्रोप्राइटर थापाले भनेकी छन्।

ताहाचल उपभोक्ता पसलमा सामान खरिद गरेर ल्याउने क्रममा प्यान–भ्याट बिल नलिदा र डेट एक्सप्यायर हेर्न नभ्याउंदा आफू जरिवानामा परेको तथा अव उप्रान्त यस्ता झिना–मसिना गल्ती आफूवाट नहुने शिक्षा मिलेको प्रोप्राइटर थापाले बताइन्। आफूलाई ५ हजार जरिवाना गरेको पीडा भन्दा अनाहकमा सभासद राजेश शाक्यको मान–मर्दन र बदनाम भएकोमा असाध्यै दुःख लागेको थापा भन्छिन्।

बुझ्दै–नबुझिकन जथाभावी कारोवार दैनिकले  समाचार लेखिदा त्यस्तो हुन गएको भनाई थापाको रहेको छ। परिवन्दमा परेर समाचारको शिकार बनेका सभासद शाक्य जनताको जनप्रतिनिधि भएपछि भएको तथ्यपरक बुझ्न जाँदा त्यस्तो आरोप आएको र त्यही दिन संवन्धित कारोवार दैनिक
पत्रिकामा समाचार खण्डन पठाउंदा पनि तीन दिन पछि विहीवार खण्डन छापिएको बताउंछन्।

खण्डनमा पनि राजेश शाक्यको स्थानमा राजन शाक्य भनेर फेरि मिस्टेक छापेको गुनासो पनि सभासद शाक्यको रहेको छ।
प्रकाशन मिति–२०७५ साल मंसीर ६ गते विहीवार ।