काठमाडौ । जर्मनीमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा दर्जनौं प्रहरी घाइते भएका छन्। हैम्बर्ग शहरमा हुन लागेको जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७६ जना प्रहरी घाइते बनेका हुन्।

Germenyप्रदर्शनकारीतर्फ पनि उत्तिकै संख्यामा घाइते भएका छन् । हजारौं संख्यामा रहेका प्रदर्शनकारीको र्‍याली रोक्न प्रहरीले हस्तक्षेप गरेपछि घटना हिंसात्मक बनेको हो।प्रहरीले भने कालो पहिरनमा रहेका करीब एक हजार प्रदर्शनकारीले मुखमा रहेको पट्टी हटाउन नमानेपछि कारवाही गर्नुपरेको जनाएको छ । क्रुद्ध बनेका प्रदर्शनकारीले गाडीमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।

प्रदर्शनकारीलाई सम्मेलनस्थल जानबाट रोक्नकै लागि सरकारले २५ हजार प्रहरी तैनाथ गरेको थियो। यता शिखर सम्मेलनमा जुटेका जी–२० का नेताहरुबीच भने थुप्रै विषयमा मतभेद देखिएको छ। खासगरी जलवायु परिवर्तन र व्यापार जस्ता विषयमा ठूलो असमझदारी छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायुसम्बन्धी पेरिस सम्झौता नमान्ने बताएपछि यसले ठूलो हलचल ल्याएको छ। यसै विषयमा ट्रम्प र जर्मन चान्सलर एञ्जेला मर्केलबीच अलग्गै छलफलसमेत भएको छ । (समाचार एजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७४ साल असार २३ गते शुक्रबार ।