ललितपुर । ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। समाजका संस्थापक अध्यक्ष काजीलाल अवालेको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो।

आयोजक ज्यापु समाज यलको श्रम तथा युवा विभाग अन्तर्गत युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिता ज्यापु समाजले आयोजना गर्ने भएतापनि ललितपुरका टोल, बहाबही र ननीहरु सबैले सहभागिता जनाउन सक्ने बताएका छन् ।

यही भाद्र २० गतेबाट हुने प्रतियोगिता ललितपुरको बालकुमारी स्थित रिमिक्स ब्याडमिन्टन क्लबमा चार दिनसम्म चल्नेछ । प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २ सय देखि २ सय ५० जना खेलाडीहरुको सहभागीता रहने अनुमान रहेको पनि भनेका छन्। प्रतियोगितामा सहभागिताका लागि भाद्र १९ गतेसम्म नाम बुझाउन समय दिइएको कारण अहिले नै यकिन खेलाडी र टोलीको संख्या बताउन नसकिने उनको भनाई छ ।

विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाई २० हजार,द्वितीय हुनेलाई १० हजार र तृतीय हुने दुई समूहलाई ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्लस् का लागि १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उदघाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्नेभएका छन्। समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनेपनि आयोजकले जनाएको छ।

प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको पनि संयोजक बाबुराजा ज्यापुले बताए । प्रतियोगितामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने जानकारी पनि आयोजकले दिएको छ। जसको लागि १६ लाख रूपैयाँ लागत अनुमान गरिएको छ।