ललितपुर। कला र संस्कृतिका लागि अत्यन्त धनी मानिएका आदिवासी धर्तीपुत्र ज्यापुहरुको बेग्लै शान तथा पहिचान रहेको छ। यिनै पहिचान तथा शानलाई कायम राख्ने कार्य ज्यापु समाज यलको सक्रियता तथा निरन्तरता रहेको छ।

यसैक्रममा ज्यापु समाज यलको रजत जयन्तीको अवसरको सेरोफेरोमा भव्य तथा सभ्य रुपमा ज्यापु समाजको पहिचानरुपी विविध सांस्कृतिक कार्यक्रम भएको छ। ज्यापु समाज यलको सांस्कृतिक व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम भएको हो।

ज्यापु समाजको परिवेश तथा कला–संस्कृतिलाई विविध सांस्कृतिक कार्यक्रम मार्फत जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ। ललितपुरको भोल टोलस्थित ऐतिहासिक परम्परागत शैलीको ज्यापु प्रज्ञाप्रतिष्ठानमा कार्यक्रमको आयोजना भएको हो।

कार्यक्रम अत्यन्त मौलिक तथा नयाँ पुस्ताका लागि शिक्षाप्रद अनि मनोरञ्जक बन्न सफल भएको ज्यापु समाज यलकी अत्यन्त सक्रिय सरिता महर्जनले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएकी छन्।


प्रकाशन मिति–२०७५ साल भदौ ९ गते शनिवार ।