काठमाडौं। लामो समयदेखि निरन्तर पत्रकारिता गर्दैआएका पत्रकारहरुको लागि सरकारी पेन्सनको माग हुदैआएकोमा अव भने पूरा हुने भएको छ। नेपाल सरकारले पहिलो पल्ट तीनजना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएवाट सरकारी पेन्सन मागमा सुनुवाइ भएको हो। जुन पत्रकारितामा जीवन अर्पण गरेका पत्रकारहरुको लागि खुशीको खवर भएको छ।

नेपाल सरकारको तर्फवाट पहिलोपल्ट मासिक पेन्सन पाउने तीनजना पत्रकारहरुमा ७७ बर्षिय ज्येष्ठ पत्रकार पद्मभक्त खरेल, ७३ बर्षिय ज्येष्ठ पत्रकार निरोधराज पाण्डे र ६७ बर्षिय ज्येष्ठ पत्रकार चिरञ्जीवी अर्याल छन्। उनीहरुलाई उमेरको आधारमा मासिक १० हजार, ७ हजार र ५ हजार प्रदान गर्ने निर्णय गरिएको छ।

पत्रकार वृत्तिकोष तथा सञ्चालन समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव डा.बैकुण्ठ अर्यालको अध्यक्षतामा यही असार २४ गते बसेको बैठकले निर्णय गरे अनुसार २०७९ साउन महिनादेखि मासिक रुपमा उमेर अनुसार तीनजना जेष्ठ पत्रकारले सरकारी कोषबाट निरन्तर पेन्सन सुविधा प्राप्त गर्ने भएका हुन्। समितिका अध्यक्ष अर्यालको अध्यक्षतामा प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमाल, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम समेतको उपस्थितिले सो निर्णय गरेको जनाइएको छ।

पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८ को आधारमा सूचना तथा प्रसारण विभागले २०७९ वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेर ४० दिनको म्याद राखी २०७९ जेठ २३ गतेभित्र लिखित निवेदन दिन आव्हान गरेको थियो। यसका लागि १२ जना पत्रकारहरुको निवेदन परेको थियो। ‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८’ले गरेको व्यवस्था अनुसार, ६५ बर्ष उमेर पुगेको पत्रकारले तीस वर्ष निरन्तर पत्रकारिता गरेको, नेपाल सरकारका कुनै निकायबाट सहयोग प्राप्त नगरेको, नेपाल पत्रकार महासंघको सिफारिस, नेपालको सरकारी सेवाबाट निवृत्त भई कुनै लाभको पदमा बसी सेवा सुविधा प्राप्त नगरेको भनी स्वघोषणा, द्वन्द्व पीडितको हकमा द्वन्द्व पीडित हो भनी खुलाउने प्रमाणित कागजात र सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाण पत्र जस्ता कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

पत्रकारहरुको कल्याणका लागि नेपाल सरकारले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट पत्रकारहरुले मासिक वृत्ति पाउनेलगायत पत्रकारकै हितमा सोही कोषबाट अन्य कार्य समेत गर्ने व्यवस्था ‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८’मा गरिएको जनाइएको छ। हाल सो अक्षय कोषमा साढे ६ करोड रकम रहेको र प्राप्त ब्याजबाट पत्रकारहरुलाई मासिक वृत्ति प्रदान गर्ने व्यवस्था नेपाल सरकारले गरेको छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको कार्यकालमा ‘पत्रकार वृत्तिकोष तथा सञ्चालन निर्देशिका २०७५’ तयार गरिए अनुरुप यो व्यवस्था कार्यान्वयन गरिएको हो।
प्रकाशन मिति–२०७९ साल असार २७ गते सोमवार ।