ललितपुर । आँट, धैर्य र साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनले महान पर्व तिहारको उपलक्ष्यमा रोयल्टी वितरण गरेका छन्। महान पर्व तिहारको अवसरमा संसार अनलाइन टेलिभिजनवाट प्रसारण भएका म्युजिक भिडियोहरुलाई हरेक बर्षको तिहारको अवसरमा प्रदान गरिदैआएको रोयल्टी वितरण गर्ने कार्य महर्जनवाट भएको हो।

थोरबहुत जे जति रकम ती म्युजिक भिडियो प्रसारणवाट आर्जित रकममा केही प्रतिशत थप गरेर संसार अनलाइन टेलिभिजनले यो बर्ष पनि वितरण गरेको जानकारी संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक महर्जनले दिएका छन्। महर्जनका अनुसार, यो बर्ष संसार अनलाइन टेलिजिभनवाट रोयल्टी पाउनेहरुमा रविन्द्र वीर शाक्य, सानो पाईला, लुँझ्याः कला कुन्ज, सुरेन्द्र श्रेष्ठ, धापाखेल ज्ञानमाला भजन म्ये हालामी पुचः, सज्जु मानन्धर र ज्ञान रत्न महर्जन रहेका छन्। सवैलाई प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख रविन्द्र महर्जनले रोयल्टी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अग्रज गायक रत्न बेहोशी, प्रथम नेपालभाषा नायक जय श्रेष्ठ, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा महान पर्व तिहार, नेपाल संवत नयाँ बर्ष ११४४ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि भएको थियो।

२०८० साल कात्तिक २६ गते आइतवार ।