काठमाडौं। नेपालभाषा टाइम्सको प्रकाशन गृह सन्ध्या टाइम्स पिथना प्रा.लि.को आयोजनामा बृहत तेश्रो नेपालभाषा साहित्य नखः काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शुरु भएको छ। शुक्रवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरिएको तेश्रो नेपालभाषा साहित्य नखःमा नेपालभाषा साहित्यको बृहत उत्थान गर्नका लागि सकारात्मक सोच र कार्य भएको छ।

नेपालभाषा साहित्यको बृहत छलफल तथा अन्तरक्रिया देखि नेपालभाषा साहित्यिक पुस्तकहरुको बृहत प्रदर्शनी समेत रहेको नेपालभाषा साहित्य नखः आज शनिवारसम्म चल्ने जानकारी आयोजक नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरणले बताएका छन्।

नेपालभाषा साहित्य नखःको पहिलो दिन शुक्रवार सातवटा कृतिको एउटै मञ्चबाट लोकार्पण भएको थियो। नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीको विशेष आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार मथुरा सायमीको आत्मकथा ‘सायमी जि मथुरा’, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल सङ्ग्रह ‘नुगःया गुनगुन’, साहित्यकार राजेन्द्रकुमार पुताका दुई कृति ‘गजलया सिद्धान्त व नेपाल भाषाय् गजल’ र ‘सुथया लिसः’, उपन्यासकार राज साय्मिको जासुसी उपन्यास ‘तुयुगु अजः’, कवि वासुदेव अधिकारीको नेपाल भाषामा अनुदित कविता सङ्ग्रह ‘युरो स्पर्श’ र साहित्यकार उद्धव मास्केको नियात्रा ‘छगू नन्द देशय्’ लोकार्पण गरिएको थियो।

सातै कृतिमाथि नेपालभाषाका अग्रज साहित्यकार मल्ल के सुन्दरले समीक्षा गरेका थिए। त्यसैगरेर, नेपालभाषाका वरिष्ठ एवं स्थापित साहित्यकार र नयाँ पुस्ताका लेखकहरुबाट कविता, कथा र निबन्ध वाचन भयो। रञ्जना लिपिको पुनरुत्थानबारे बारेमा पनि प्राध्यापक निर्मल बज्राचार्यको सहजतामा बृहत अन्तरक्रिया कार्यक्रम संपन्न भएको थियो।


प्रकाशन मिति–२०७६ साल मंसीर ७ गते शनिवार ।