Maghi 1काठमाडौ।  आजदेखि माघी पर्व सुरु भएको छ। माघी पर्व थारु समुदायको प्रमुख चाड हो। यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने चलन छ।

तीन दिनसम्म धुमधामका साथ मनाईने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाँचगाँन गर्ने चलन पनि रहेको छ। थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना बनाउने गर्छन्।

यसरी बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँ स्तरमै बनाईने चलन छ। माघी पर्वसंगै थारु गाउँमा चहलपहल बढेको छ। माघीको पहिलो दिन आज गाउँघरमा सुङ्गुर वा बङ्गुर मारिएका हुन्छन्।

जसलाई जिता भन्ने चलन छ। यस दिन हरेकको घरमा मिठो पाकवान र सुङ्गुर, माछा, कुखुराको मासु पाकेको हुन्छ। बर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन रहि आएको छ।

यसदिनका लागि जाँडको झोल र मासु विशेष खानाको परिकार रहेको हुन्छ। खानपिनपछि सहमति अनुसार गाउँका बड्घरको घरमा वा घर/घरमा जम्मा भएर दफको तालमा धमार गीत गाउँदै रातभरी जाग्राम बस्ने चलन रहेको छ।

मकर सङ्क्रान्ति अर्थात माघ १ गतेका दिन पोखरी, दह, तलाउमा नुहाउने चलन छ। यो दिन नुहाउनाले बर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने गरेको समुदायमा बुझाइ छ। यो दिन पशुपंक्षी बध हुदैंन।

Maghi 2

प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।