Prachandaकाठमाडौ। पूर्वनिर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न जाँदाजाँदै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दोस्रो चरणमा पहिले नै तय भएका ४ सय ६१ तहमा मात्र चुनाव गर्न सकिने स्पष्ट गरेको छ । पदबाट राजीनामा दिनुअघि आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन पर सार्नेबारे धारणा लिएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको समेत उपस्थितिमा भएको छलफलमा दाहालले मधेसकेन्द्रित दललाई देखाएर चुनाव पर सार्न आग्रह गरेका थिए।
स्थानीय तहको निर्वाचनका लागि एकै चरणको तयारी भइरहेका बेला सरकारकै आयोगमा दुई चरणमा निर्वाचन गर्न आयोग तयार भएको र अब दोस्रो चरणको तयारीमा आयोग लागेको जानकारी प्रधानमन्त्रीलाई आयोगले गराएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं. १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सामग्री जिल्लामा पुर्याइसकिएको, जेठ ६ गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोली कार्य सञ्चालन भइरहेको, निर्वाचन अधिकृतहरूलाई जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको, जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशन गरिसकेको परिप्रेक्षमा अब तिथिमितिबारे सुझाव नलिन प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो।
तर, सरकारले केही दिनअघि मात्र थप गरेका तराई मधेसका जिल्लाका २२ तहको निर्वाचन भने जेठ ३१ गते गर्न नसकिने आयोगले स्पष्ट गरेको छ।

निर्वाचन आयोगले सरकारद्वारा थप भएका २२ वटा तहमा जेठ ३१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट गरेपछि ती स्थानमा तेस्रो चरणमा निर्वाचनको सम्भावनाबारे राजनीतिक वृत्तमा छलफल सुरु भएको छ । यो छलफलले चाँडै निकास पाउने हो या मुलुकलाई अनिर्णयको बन्दी बनाउने हो ? त्यो भने हेर्न नै बाँकी रहेको छ। अर्कोतर्फ पुष्पकमल दाहालले प्रधानमन्त्रीवाट राजीनामा दिएयता नयाँ प्रधानमन्त्री शेरवहादुर देउवा बन्ने हुन या अर्कै हुने हो भन्ने चलखेल पनि शुरु भएको छ।

राजिनीतिक सहमति अनुसार शेरवहादुर देउवा नै प्रधानमन्त्री बन्ने भनिएतापनि नेपाली जनतामाझ देउवा त्यति लोकप्रिय छैनन्। ठाडै भन्ने हो भने, अलोकप्रिय नेताको रुपमा गनिसकेका छन्। यसलेगर्दा नेता देउवाको फेरि प्रधानमन्त्री बन्ने सपनामा कुराठाघात हुने संभावनाहरु पनि निक्कै रहेको छ। देउवा भने जसरी भएपनि प्रधानमन्त्री बनेर आफ्नो पावरलाई संचित गर्ने कसरतमा रहेका छन्। जुन देउवाकै लागि अफाप हुने हो कि भन्ने डर देखिएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ११ गते विहीवार ।