काठमाडौं । ललितपुरको बालकुमारी स्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले लियो क्लब अफ काठमाडौं अल्कासंग सहकार्य गरेर दृष्टिविहिनहरुलाई सहयोग गरेका छन् । उक्त स्कुलमा बीबीएमा अध्ययनरत चारजना विद्यार्थीहरु नसना बज्राचार्य, उन्नति न्याछ्यों, जस्मिन तामांग र प्राची शाक्य सोसियल एक्सपेरिन्स प्रोजेक्टकालागि हेटौडास्थित श्री बाल ज्योति माध्यमिक विद्यालय गएका थिए।

दुई हप्तासम्म उक्त विद्यालयमा अध्ययनरत विभिन्न उमेर समुहका बीस जना दृष्टिविहिन तथा अल्पदृष्टि विद्यार्थीसंग घुलमिल गरेर दृष्टिविहिनहरुका समस्या, कठिनाई र भोगाईलाई नजिकबाट बुझेको सहभागी चारजना मध्येकी एक नसनाले भिजन संसार डटकमलाई बताएकी छन्। उनीहरुलाई हिड्नका लागि सेतो छडी नै नभएको साथै अध्ययनका लागि अत्यावश्यक ब्रेललिपिका सामग्री अपर्याप्त भएको साथै म्याग्निफाईंग ग्लास तथा रेकर्डर उपलव्ध नभएको पाए।

त्यहाँबाट फर्केर त्यो समस्या समाधान गर्न उनीहरुले लियो क्लब अफ काठमाडौं अल्का र इन्टरनेशनल सोसियल सर्भिस आण्ड रिलिफ अर्गनाइजेशन दृष्टिविहिन बालबालिकालाई सहयोग फुट्सल प्रोग्राम गरेर सहयोग संकलन गरेका छन्।
दृष्टिविहिन विद्यार्थीका निम्ति विद्यार्र्थी मार्फत नै सहयोग लिने अवधारणा अनुरुप प्लस टू कलेजहरुलाई समेटेर दृष्टि कप २०१८ फुट्सल प्रतियोगिता गर्ने सोच पलायो ।

गत मंसीर २२ गते सम्पन्न भएको दृष्टि कप २०१८ प्रतियोगितामा इन्साइट भिजन कलेज, धुम्बाराहीका इन्साइट भिजन रातोले उपाधि जित्न सफल भए । प्रतियोगिताको उदघाटन उज्वल नक्षत्र समाजका अध्यक्ष एवम् दृष्टिविहिन संचारकर्मी बासुदेव अधिकारीले गरेका थिए । विजेता टोलीलाई पूर्व राष्टिय फुटबल खेलाडी अनिल गुरुङले ट्रफी प्रदान गरेका थिए।

उपत्यकाका ११ वटा प्लस टूका १३ वटा टिम सहभागी भएकोे थियो। उक्त प्रतियोगितामा विजेता इन्साइट भिजन कलेजले नगद पुरस्कार पचास हजार प्राप्त गरेको थियो। उक्त रकम मध्ये चालिस हजार रकम कलेजको तर्पmबाट दृष्टिविहिनहरुका निम्ति अत्यावश्यक सामग्रीका खरदिकानिम्ति प्रदान गरेको थियो । उक्त सामग्रीहरु वितरण गर्न केही दिनमै हेटौंडा प्रस्थान गर्ने जानकारी लियो क्लब अफ काठमाडौं अल्काका सभापति हिमालय लामिछानेले दिए।

कलेजको प्रोजेक्टबाट शुरु भएको सामाजिक सेवा मार्फत अन्य संस्थाहरुसंग मिलेर दृष्टिविहिन बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गर्न पाएकोमा नसनाले खुशी व्यक्त गरेकी छन् ।
प्रकाशन मिति–२०७५ साल मंसीर २६ गते बुधवार ।