काठमाडौं। आज विवाह पञ्चमी। भगवान श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। मिथिलाको प्राचिन नगरी जनकपुरको जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिँदै छ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ। रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।

त्यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गरिएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ। यस अवसरमा आज २ नंबर प्रदेश सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशन मिति–२०७५ साल मंसीर २६ गते बुधवार ।