काठमाडौं। नेपालका धिमे बाजाका प्रख्यात गुरु धर्म मुनिकारले पनौतिमा पाँच महिना लामो धिमे बाजा प्रशिक्षण दिने कार्य सम्पन्न भएको छ। काभ्रे जिल्लाको पनौतिस्थित फुल्चोकी धिमे खलःको आयोजनामा उक्त धिमे बाजा प्रशिक्षण कार्य भएको हो।

धिमे बाजाका प्रख्यात गुरु धर्म मुनिकारले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, धिमे बाजाको प्रशिक्षण गत भाद्र २० गतेवाट शुभारम्भ भएर गत पौष २० गते नै समापन भएको थियो।

नेवार समुदायको बिभिन्न जात्रा तथा समारोहको प्रमुख आकर्षणको रुपमा रहेको धिमे बाजाको प्रवर्दन तथा संरक्षण गर्ने उदेश्यले यसप्रकारको प्रशिक्षण दिने कार्य भएको फुल्चोकी धिमे खलःले प्रमाण–पत्र वितरण समारोहमा भनेको छ। माघ १८ गते उक्त प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन गरिएको थियो।

फुल्चोकी धिमे खलःका अध्यक्ष चित्र बहादुर श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा आयोजक खलःका उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

पनौती नगरपालिका वडा नंबर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा विभिन्न सांस्कृतिक मौलिक नृत्यहरुको पनि प्रस्तुत गरिएको थियो। धिमे बाजा प्रशिक्षणवाट ३८ जना स्थानीय प्रशिक्षार्थीहरु लाभान्वित बनेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।