काठमाडौं। कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षिय युवा निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १६ दिनअघि कोरोना भाइरस संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचारत उनी आज निको भएर डिस्चार्ज भएका हुन।

लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका २१ बर्षीय युवाको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आइतबार उनलाई अपरान्ह्र डिस्चार्ज गरेको कान्तिपुरको अनलाइन संस्करणले उल्लेख गरेको छ।

प्रतापपुरको क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। ‘आत्मबल घट्न नदिनुस्, कोरोना सञ्चो हुन्छ,’ डिस्चार्ज भएपछि घर जाने क्रममा उनले भने, ‘मलाई सुरुदेखि नै अवश्य निको हुन्छ भन्ने विश्वास थियो।’ संक्रमित भए पनि उनलाई कुनै लक्षण देखिएको थिएन।

उनलाई डिस्चार्ज गर्ने क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले फुलको गुच्छा दिएर बिदाई गरेका थिए। कोरोना महामारी फैलिएपछि उनी भारतको मुम्बइबाट घर फर्किआएका थिए। यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ४ पुगेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ७ गते आइतवार ।