ललितपुर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनको वर्तमान अवस्थामा बढी अपाङ्गता भएका व्यक्तिहरु प्रभावित बनेका छन्। सरकारले दिएको राहत पनि उनीहरुले लिन जान सकेको अवस्था छैन्।

यस्तो विषम परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकारको लागि पैरबी गर्दैआएको संस्था स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरले फेज नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको घर–घरै पुगेर राहत प्रदान गरेको छ।

पूर्ण तथा अतिअशक्त अपाङ्गता भएका ५४ जनाको घर–घरमा पुगेर उनीहरुको बस्तुस्थिति बुझेर खाद्य तथा स्वास्थ्य सामाग्री राहत स्वरुप प्रदान गरेको आयोजक स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष तथा अग्रज अपाङ मानवअधिकारकर्मी भोजराज श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

अग्रज अपाङ मानवअधिकारकर्मी श्रेष्ठका अनुसार, त्यस अवसरमा ललितपुर महानगरपालिका भित्र र यसका आसपासमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई महिला विकास शाखा ललितपुरको समन्वयमा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले पनि सहयोग हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा वडा अध्यक्षहरु नारायण केसी,गणेश केसी,हिट्लर शाक्य,नरसिह ब्यञ्जनकार,वडा सदस्य सन्तोषको सहकार्यमा स्वाबलम्बन जीवन पद्धतिकेन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ,उपाध्यक्ष रत्न राई,सहयोगी सुजन केसि,फेज नेपालका निर्देशक रुद्र न्यौपाने,डाइमन थापा लगायत सहभागी थिए।

संकटको यो विषम परिस्थितिमा पनि पूर्ण र अतिअशक्त अपाङ्गताको सवालमा कार्य गर्ने स्वाबलम्बन जीवन पद्धती केन्द्र ललितपुर र फेज नेपालको यस अभियानलाई ललितपुर महानगरपालिका,जनप्रतिनिधिहरु,सुरक्षाकर्मी,सर्बसाधारण र सहयोग प्राप्त गर्ने ब्यक्तिहरुले दिल खोलेर तारिफ गरेका छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख ७ गते आइतवार ।