ललितपुर। परम्परागत बाजा धिमे नेवार महिलाहरुले बजाउनु र यसमा नाच्नु हुँदैन भन्ने पुरानो मान्यता तोडे्र नयाँ युगको सिर्जना भएको छ। हिजोआज नेवार महिलाहरु पनि निर्धक्क परम्परागत धिमेबाजा बजाएर यसमा मज्जाले नाच्ने गरेका छन्। यसरी नयाँ युगको शुरुवात गरेका गुरुवर्गको धिम्बा डान्स एण्ड मोरले सम्मान गरेको छ।

ललितपुरको बालकुमारी स्थित गुइतः दोमार (सांस्कृतिक डाँडा) मा आयोजना गरिएको उक्त समारोहमा गुरुद्वय किसलाल महर्जन र कान्छाभाई महर्जनलाई सम्मान गरिएको हो।

धिम्बा डान्स एण्ड मोरका परिकल्पनाकार, प्रमुख एवं गुरु सुरोज महर्जनको सभापतित्वमा आयोजित समापन समारोहमा ललितपुरमा पहिलो पटक धिमे वादन र नृत्य प्रस्तुत गरेका महिलाहरु मीना महर्जन, सानुमैया महर्जन, रोशनी महर्जन, शान्ति महर्जन, अनिता महर्जन, सीता महर्जन, अनिता महर्जन, रजनी महर्जनलाई पनि सम्मान गरिएको थियो।

समारोहमा समाजसेवी एवं धिमे सहायक गुरुहरु आशाकाजी महर्जन, बेखालाल महर्जन तथा तःननी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अष्टमान महर्जन अतिथिका रुपमा उपस्थित थिए। सजना तण्डुकारले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त समारोहमा धिम्बा गुरु सम्झना थुसःले मञ्जुश्री चर्या नृत्य प्रस्तुत गरेकी थिइन्। त्यसैगरेर धिमे नाच तथा अन्य सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।