काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्रज नेता तथा नेपालका पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा शनिवार राति दुःखद निधन भएको छ।

फोक्सो र मुटुको समस्याले तीन सातादेखि काठमाडौंको गल्फुटारस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिवार राति ९ः३५ मा निधन भएको हो। अस्पतालका मेडिकल डारेक्टर डा.भाष्करराज पन्तले विज्ञप्तिमार्फत पूर्व–उपप्रधानमन्त्री अधिकारीको निधन भएको पुष्टि गरेका हुन्।

नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अधिकारीको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन्।

तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा अधिकारीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए।

चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए।

प्रकाशन मिति–२०७५ साल फागुन १८ गते शनिवार ।