काठमाडौ। नेपालका अर्बपति विनोद चौधरी यो बर्षको एसियन म्यान अफ द इयर अवार्डवाट सम्मानित बनेका छन्। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको अगुवाईमा गत बर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पमा चौधरी ग्रुपव्दारा सञ्चालित मानविय र परोपकारी कार्य गरेवापत अमेरिकास्थित मानवतावादी संस्था वी केयर फर ह्युम्यानिटीले उक्त अवार्ड प्रदान गरेको हो।

Binod Chaudhary Man of the yearअमेरिकाको न्यूयोर्कमा आयोजित वी केयर फर ह्युम्यानिटीको तेश्रो शिखर सम्मेलन तथा चौथो ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड कार्यक्रमका अवसरमा अर्बपति चौधरीलाई सम्मान प्रदान गरिएको हो। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित सम्मान समारोह भएको थियो। चौधरी ग्रुपको परोपकारी निकाय चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात नेपालमा विविध मानवीय कार्यहरु सञ्चालन गरेको छ।

जसअन्तर्गत पहिलो चरणमा तत्काल राहतका कार्यक्रमहरु सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टरको निर्माण, भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणलगायत कार्यहरु सञ्चालनमा छन्। हाल चौधरी फाउन्डेसनमार्फत आर्थिक स्वावलम्बन, महिलाको सामाजिक स्तरोन्नति तथा आत्मनिर्भरता र युवाको सीपविकासका लागि भूकम्प प्रभावित क्षेत्रमा ‘सीजी शिपशिक्षा’ र ‘सीजी उन्नति’ परियोजनाहरु सञ्चालित छन्। यसका अतिरिक्त ग्रामीण क्षेत्रमा स्थानीय सीप र ज्ञानको उपयोगका साथ उद्यमशीलता तथा व्यावसायिकताको प्रवर्धनका लागि ‘नेपाल सोसल विजनेश’ का कार्यक्रमहरु पनि चौधरी फाउन्डेसनमार्फत सञ्चालनमा छन्।

प्रकाशन मिति–२०७३ साल भदौ ५ गते आइतवार ।