काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार वर्तमान कम्युनिष्ट सरकारका केही मन्त्रीहरु साँच्चिकै सर्वहारा देखिएका छन् भने धेरैजसो आश्चर्य लाग्नेगरी धनी देखिएका छन्।

गत फागुन ३ गते गठन भइ चैत २ गते तेस्रोपटक विस्तार भएर कायम रहेको वर्तमान मन्त्रिपरिषदका सदस्यको ढिलोगरी सार्वजनिक भएको सम्पत्ति विवरण हेर्दा केहीको अवस्था टिठलाग्दो देखिएपनि केही भने असाध्य धनी देखिएको छ।

घरजग्गामात्र हैन, करोडौंको बैंक ब्यालेन्स, सेयर लगानी र सुनचाँदी तथा जवाहरतमा पनि मन्त्रीहरुको एक से एक देखिएको छ। अधिकांश पुरुष मन्त्रीको सम्पत्ति श्रीमतीका नाममा रहेको पाइएको छ र धेरैले त्यो सम्पत्ति पैत्रृक भनेका छन्। कतिपयले माइतीबाट पाएको भनेर उल्लेख गरेका छन्, जुन अप्रत्यक्षरुपमा दाइजो हो।

प्रधानमन्त्री ओलीको सम्पत्ति


सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यसँग भक्तपुर, सूर्यविनायक–२ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको तीनतले दुईओटा घर छ । ओलीको नाममा ४२ लाख रुपैयाँ बैंक ब्यालेन्स छ भने श्रीमती शाक्यका नाममा झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा, १८ तोला सुनका गरगहना, १० लाख नगद र राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।

रक्षामन्त्री पोखरेलको सम्पत्ति


रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाडौंको टोखा–६ मा २३ आनामा बनेको तीनतले घर, नगरकोटमा १ रोपनी ११ आना जग्गा, धादिङको खानीखोलामा ४ रोपनी जग्गाका साथै ९ तोला सुन र २५ तोला चाँदीको गरगहना एवं विभिन्न बैंकमा १३ लाख ४० हजार नगद छ भने पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा जग्गा छ ।

अर्थमन्त्री खतिवडाको सम्पत्ति
सबैभन्दा बढी नगद रहेका अर्थमन्त्री डा। युवराज खतिवडासँग १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ र ६२ हजार ७०३ अमेरिकी डलर बैंक मौज्दात छ भने काठमाडौं–४ मा ५ आना, भक्तपुरको चाँगुनारायणमा १२ आना जग्गा छ । श्रीमती कमला खतिवडाको नाममा काठमाडौं–४ मै १४ आना, चाँगुनारायणमा १२ आना, झापा, गौरादह–९ मा ४ विगाहा ८ कट्ठाका साथै काठमाडौंको कागेश्वरी, दोलखाको जिरी, भापालको गौरादहलगायतका विभिन्न ठाउँमा जग्गा, सुन, चाँदी, गाडी, सेयर आदि पनि छ ।

गृहमन्त्री थापाको सम्पत्ति
गृहमन्त्री रामबहादुर थापाको चितवनमा जग्गा, सुन र ७ लाखजति नगद मौज्दात देखिन्छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको सम्पत्ति
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काठमाडौंमा एउटा घर, अढाइ लाख नगद र केही सुन रहेको देखाइएको छ ।

ऊर्जामन्त्री पुनको सम्पत्ति
ऊर्जामन्त्री वर्षमान पुनको रोल्पा र दाङमा घरजग्गा देखिन्छ भने साढे १० लाख नगद र १५ तोला सुनलगायतको सम्पत्ति छ ।

सामान्य प्रशासनमन्त्री पण्डितको सम्पत्ति
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि विराटनगर र ललितपुरको भैंसेपाटीमा घरजग्गा, १० तोला सुन, १५ तोला चाँदी र ५५ लाख नगद हुने नेता हुन् ।

पर्यटनमन्त्री अधिकारीको सम्पत्ति
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ६० तोला सुन र ३० केजी चाँदी छ । यस्तै, पोखरामा साढे १४ रोपनी घडेरी र ९० रोपनी जग्गाका साथै काठमाडौंको बूढानीलकन्ठमा ५ आना जग्गा रहेको छ भने करिब २५ लाख नगद, ३० लाखको सेयर एवं २० लाखको गाडीलगायतको सम्पत्ति छ ।

मन्त्री महासेठ अथाह सम्पत्तिका मालिक
सबैलाई माथ गर्नेगरी अथाह सम्पत्तिका मालिक देखिएका छन्, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ। उनी र श्रीमती जुली महतोका नाममा गरी ललितपुर–२५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर र छुट्टै ४ रोपनी ४ आना जग्गाका साथै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे दुईतले घर, मिथिलामा पैत्रिक घर, धनुषामा १० विगाहा जग्गा, ५२ तोला सुन, डेढ किलो चाँदी ४० करोडको सेयरसहितको सम्पत्ति छ ।

शिक्षामन्त्री पोखरेलको सम्पत्ति
यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र ३ लाख ६७ हजार बैंक ब्यालेन्स छ ।

उद्योगमन्त्री यादवको सम्पत्ति
उद्योगमन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर, एक करोड ३० लाखको जग्गा, १६ तोला सुन र केही नगद छ ।

वनमन्त्री बस्नेतको सम्पत्ति
वनमन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा एउटा घर, १७ लाख नगद, ७ तोला सुन, १० किलो चाँदी र तीन लाख बढीको सेयर छ ।

कृषिमन्त्री खनालको सम्पत्ति
कृषिमन्त्री चक्रपाणि खनालको कपिलवस्तु र रूपन्देहीमा १५ कट्ठा जग्गा, ६ तोला सुन र श्रीमान्–श्रीमतीका नाममा गरी १५ लाख नगद र १० लाखको सेयर छ ।

खेलकुदमन्त्री सुनारको सम्पत्ति
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको पोखरामा दुई रोपनी जग्गा, ललितपुरमा जग्गा तथा ५० तोला सुनका साथै परिवारका नाममासमेत गरी २० लाख बैंक ब्यालेन्स छ ।

कानुनमन्त्री तामाङको सम्पत्ति
कानुनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममासमेत गरी काठमाडौं, गोकर्णेश्वरमा तीन रोपनी जग्गा र घरका साथै सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौंमा १२३ रोपनीभन्दा धेरै जग्गाका एवं ३० तोला सुन, सवा लाख नगद र १५ लाखको सेयर छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टको सम्पत्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुईओटा घर छ । ७ तोला सुन तथा विभिन्न बैंकमा ७ लाख ३२ हजार नगद मौज्दात छ ।

सर्वहारा मन्त्री
साँच्चिकै सर्वहाराजस्तो देखिनेमा खानेपानीमन्त्री बीना मगर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा छन्, जसको परिवारका नाममा अत्यन्तै न्यून सम्पत्ति छ ।
प्रकाशन मिति–२०७५ साल जेठ १० गते विहीवार ।