काठमाडौं। नेपालको गौरब तथा शानको प्रतिक इन्द्रजात्रा पर्व। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ।

इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा परम्परागत रुपमा मनाउने कार्य भैरहेको छ। केही बर्षयता अमेरिका,बेलायत लगायतका मुलुकमा पनि यो पर्व मनाउने कार्य हुंदैआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ।

आज चौथो दिन इन्द्रजात्राका दिन काठमाडौंको बसन्तपुरमा नेपालको जीवित देवीको रुपमा मानिएको श्रीकुमारीको रथयात्रा प्रारम्भ हुने भएको छ। अपरान्हतिर नेपालको राष्ट्रप्रमुखको प्रमुख आतिथ्यतामा जीवित देवी श्रीकुमारीको रथयात्रा हुने भएको हो। साथमा श्रीगणेश र श्रीभैरबको पनि रथयात्रा हुने छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष आतिथ्यतामा विभिन्न देशका मेयरहरुका साथमा ४८ जना विदेशी पाहुनाहरुले पनि इन्द्रजात्रा अवलोकन गर्ने भएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २७ गते शुक्रवार ।