ड्यालस–टेक्सस (अमेरिका)। नेपालका तीनवटा परियोजनाका लागि सहयोग जुटाउने उद्देश्यले अमेरिकाको ड्यालसमा नेपालीहरुले ‘वाक फर नेपाल’ कार्यक्रम आयोजना गरेका छन् । शनिबार व्याचम्यान लेक पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले पाँच किलोमिटर पैदल यात्रा गरेका थिए।

उक्त कार्यक्रमबाट प्रवेश शुल्क वापत दुर्इहजार पाँचसय ३८ डलर संकलन भएको थियो। त्यस्तै वाक फर नेपालको वेवसाइट मार्फत नौ हजार डलर संकलन भएको कार्यक्रमका संयोजक सुमन कार्कीले बताएका छन्। कार्यक्रममा स्पोन्सर गर्ने व्यक्ति तथा कम्पनीहरुले समेत नेपालका तीनवटा परियोजनाका लागि सहयोग गरेका छन्।

यो अभियानबाट संकलित रकम नेपालमा तीनवटा परियोजनामा खर्च गरिने कार्कीले बताए। Reaping Hope – RH(Sponsor a Grand Parents), House with Heart, र Nepal Rising (Community Water and Sanitation projects) जस्ता परियोजना छनोट भएका छन्।

शनिवार लेकपार्कमा भएको कार्यक्रममा तीनसय ५० नेपाली तथा स्थानीय अमेरिकी समुदायका व्यक्तिहरू जम्मा भएर नेपाली झण्डा, बाजा गाजा, बिभिन्न भेषभुषमा सजिएर पैदल यात्रा गरेका थिए । त्यस अवसरमा सांगीतिक, मनोरन्जनात्मक, खेलकुद लगायतका कार्यक्रमहरु भएका थिए।

कार्यक्रममा एनआरएन अमेरिकाका उत्तर अमेरिकी क्षेत्रीय संयोजक गौरीराज जोशी, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने लगायतका पदाधिकारीहरू, स्थानीय नेपाली समुदायका अगुवा, युवा, विद्यार्थीहरूको समेत उत्साहप्रद सहभागिता थियो।
प्रकाशन मिति–२०७४ साल कात्तिक २० गते सोमवार ।