काडमाडौ । नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा अर्थात शरीर पूजा हो। नेपालको आदिवासी नेवार सम्प्रदायले महान पर्व तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत अनुसारको नयाँ बर्षमा मनाइने म्हःपूजा आफैमा गौरब र महत्वको परम्परा र संस्कृति हो।

यस संस्कृतिलाई विश्वले अनौठो र खुल्दुलीपूर्वक हेरिरहेको वर्तमान अवस्थामा काठमाडौंको बसन्तपुर स्थित सिन्हःस्वाः खलःका अध्यक्ष मनोज नेवा खड्गीको अगुवाईमा सार्वजनिक रुपमा म्हःपूजा गर्ने कार्य भएको छ।

काठमाडौंको बसन्तपुर दरवार स्क्वायरको आँगनीमा आयोजित सार्वजनिक म्हःपूजामा नेवार तथा गैरनेवारहरुको विशेष सहभागिता रहेको थियो । शुक्रवार आयोजित म्हःपूजा कार्यक्रममा नेवार तथा गैरनेवार गरेर १ सय १ जनाको म्हःपूजा भएको जानकारी आयोजक सिन्हःस्वाः खलःका अध्यक्ष मनोज नेवा खड्गीले भिजन संसार डटकमलाई दिएका छन्।

जसमा नेपाली चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल, शारदा खड्का देखि पत्रकारहरु नारायण राई, श्याम स्मृत, नारायण लिंखा देवान, सुरेन्द्रभक्त श्रेष्ठ, सुव्रत आचार्य, जया शर्मा, जीवन पराजुलीसम्मले म्हःपूजा गरेका थिए।

सवैले पहिलो पल्ट सार्वजनिक रुपमा म्हःपूजा गर्दा आत्मिक रुपमा शुद्धिकरण भएको र गजबको यो मौलिक परम्परालाई सवैले प्रवद्र्धन गर्न आवश्यक भएको प्रतिक्रिया दिएका छन्।

आयोजक सिन्हःस्वाःखलले यो बर्ष सार्वजनिक रुपमा म्हःपूजा गरेको तेश्रो बर्ष हो । अघिल्ला बर्षहरुमा ५१ जनालाई मात्र गरिदैआएकोमा यो बर्ष १ सय १ जनालाई गरिएको जनाएको छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक १९ गते शुक्रवार ।