काठमाडौ। नेपालको आफुलाई लिट्टल बुद्ध बताउने रामबहादुर बम्जनको सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता भएका र एक जनाको हत्या समेत भएको खवर सार्वजनिक भएपछि सिआइबीले अनुसन्धानका क्रममा सिन्धुपाल्चोकमा रहेको आश्रममा प्रहरीले छापा मारेको हो। अनुसन्धान पूरा नभएसम्म प्रहरीले आश्रमलाई प्रहरी नियन्त्रणमा राखिने सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले नागरिक न्यूजलाई बताएको उल्लेख गरिएको छ।

आश्रममा बम्जनका केही अनुयायी मात्रै रहेका छन्। पछिल्लो समय बम्जन भने सिन्धुली स्थित आश्रममा बस्दै आएको बताइन्छ। बाडेगाउँको आश्रममा बम्जन झण्डै १० महिना बसेका थिए। आफन्त हराएका पीडित परिवारले सिन्धुली र मकवानपुर जिल्लामा उजुरी दिएपछि बम्जन माथिको छानबीनमा सिआइबीले अग्रसरता देखाएको हो। सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेंल नेतृत्वको प्रहरी टोलीले सिआइबीलाई अनुसन्धानमा सघाइरहेको छ।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।