काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको बौद्धमार्गीहरुको आस्थाको प्रतिक अनि अनुपम सम्पदा काठमाडौंको बौद्धस्थित बौद्धस्तुपामा जथाभावी सजावटका कार्य गर्न र गराउन नपाउने भएको छ।

बौद्धस्तुपाको मौलिकता तथा सुन्दरतामा आँच पुग्ने गरेर कार्य नगर्न र नगराउन काठमाडौं महानगरपालिकाले सचेत गराएको छ। काठमाडौंको घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्तुपमा जथाभावीरुपमा सजावटका काम गरेपछि काठमाडौं महानगरपालिकाले त्यसो नगर्न सचेत गराएको हो।

सो गुठीले बौद्धस्तुपमा ड्रिल गरी किला ठोकेको पाइएपछि काठमाडौं महानगरपालिका वडा नम्बर–६ ले बिहीबार बौद्धस्तपुको परिसरमै कार्यक्रम गरी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा पुरात्व विभागको स्वीकृति नलिइ कुनैपनि काम नगर्न र नगराउन सचेत गराएको हो। कार्यक्रममा महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले सम्पदा सूचीकृत क्षेत्रमा हुने गरेका अवैध क्रियाकलाप रोकेर सम्पदाको संरक्षण गर्नुपर्ने बताइन्।

उपमेयर खड्गीको सहभागितामा बौद्धस्तुपामा ठोकिएका किलाकाँटाहरु निकाल्ने कार्य पनि भएको छ। सम्पदा क्षेत्रमा रहेका भवनहरुमा एकरुपता कायम गर्नुपर्ने, होर्डिङ बोर्डको निश्चित आकार–प्रकार लागू गर्नुपर्ने, मदिरा विज्ञापनमा प्रतिबन्ध गर्नुपर्ने, पूजापाठमा स्पष्ट नीति हुनुपर्ने तथा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्नेलगायतका ८ बुँदे योजनासमेत प्रस्तुत् गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।