काठमाडौं। नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ। आज मंगलवार भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष तथा ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। निको हुनेको संख्या १६ रहेको छ।

आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन्।

नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण शुरु गरिएको हो। सोही खोजीवाट सम्पर्कमा आएकाहरुको परिक्षण हुदा उक्त पुष्टि भएको हो।
प्रकाशन मिति–२०७७ साल बैशाख २३ गते मंगलवार ।