काठमाडौं। कोरोनाको कहरमा नेपालमा कोरोना संक्रमितको संख्यामा फेरि बृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन्।

सोमबार बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । यी १० जना पनि बुद्धभूमि र लुम्बिनी सांस्कृतिककै हुन् । यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् भने बर्दिया राजापुर निवासी ११ वर्षीया महिला छन्। स्वास्थ्य मन्त्रालयले सबैको स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २–२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ। पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनःअस्पताल भर्ना गरिएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।