काठमाडौं। नेपालमा चौथो विश्व नेवाः दिवस मनाएको छ। विश्व नेवाः संगठन नेपाल च्याप्टरले चौथो नेवाः दिवस मनाएको हो। विश्व नेवाः संगठन, नेपाल च्याप्टरले चौथो नेवाः दिवसको अवसरमा शनिवार काठमाडौंको वसन्तपुरमा सम्मान कार्यक्रम संपन्न गरेको छ। कार्यक्रममा नेवाः समुदायको उत्थानको लागि विभिन्न क्षेत्रबाट योगदान दिने
व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो।

भाषा र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै लक्ष्मीदास मानन्धर र मोतिलाल शिल्पकारलाई सम्मान गरिएको थियो भने संगीत क्षेत्रबाट जनगायक भृगुराम श्रेष्ठ, संस्कृति क्षेत्रबाट प्राध्यापक प्रेमशान्ति तुलाधर, साहित्यमा कवि भूषणप्रसाद श्रेष्ठ, त्यसैगरी कला क्षेत्रमा राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जनलाई सम्मान गरियो।

नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइएको थियो । त्यसैगरी स्वर्गीय गायक रमेश ताम्राकारको सम्झनामा स्थापित सम्मान गायक जुजुकाजी रंजितलाई दिइयो भने विश्वको उच्च शिखर सगरमाथाको उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल नेपाली चेली पर्यटन पत्रकार कल्पना महर्जनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोसल्ला ओढाइ सम्मान प्रदान गरेका थिए। कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन, कोषाध्यक्ष तथा समारोह समिति संयोजक सुरेन्द्रभक्त श्रेष्ठ संगठनको महत्व तथा गतिविधिबारे बताएका थिए ।

विश्व नेवाः संगठनले गएको ४ वर्ष अघिदेखि मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएको छ। अमेरिकाको बाल्टिमोरमा संगठनको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो ।
प्रकाशन मिति–२०७७ साल चैत्र १५ गते आइतवार ।