काठमाडौं। नेपालमा लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्या बढेको छ। चाइल्ड सेफ नेटले गरेको एक अध्ययनमा १२ सय ४८ जनामा ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन्।

अझ कतिपय अपत्यारिला ज्ञानी भनिएका सज्जन महानुभावहरुले पनि अश्लिल साइट तथा अश्लिल सिनहरुको क्लिप सामाजिक सञ्जालको प्रयोग गरेर साथीभाइलाई पठाउने गरेको पाइएको छ। अध्ययनवाट सरकारले अश्लिल साइटमाथि प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक माध्यमबाट यस्ता साइट हेर्नेहरु बढेको भनेका छन्। अश्लिल साइट हेर्नेहरुमा झण्डै ४९ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका भएको अनुसन्धानले देखाएको छ।

लकडाउनमा १ घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ भने, ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ । जबकि लकडाउन अघि ७.९८ प्रतिशत मानिसले दैनिक १ घण्टा भन्दा कम तथा २.२८ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका थिए।

यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशतले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेडबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ। अश्लिल साइट हेर्दा बालबालिकामाथि अनलाइन दुव्र्यवहार तथा शोषणको जोखिम बढेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीको भनाइ छ।

यस्तै ७४ प्रतिशतले मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गरेका छन्। जसमध्ये सबैभन्दा धेरैले युट्युब, फेसबुक, भाइबर, टिकटक, व्हाट्सएप, इन्स्टाग्राम, ट्विटर चलाउने गरेको पाइन्छ।

(इमेज खवरको सहयोगमा)


प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।