काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद भएको छ। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा बढी भारुसहित तीनजना पाकिस्तानी र तीनजना नेपालीलाई नियन्त्रणमा लिएको हो।

पटक–पटक मुद्रा अपचलनमा जेल पुगेका नेपाली नागरिक युनुस अन्सारीसहित ६ जनालाई प्रहरीले निगरानीकाक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो। कतार एअरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका तीनजना पाकिस्तानी नागरिकहरु नसिर उद्दिन, अख्तर मोहम्मद र अन्बर नादियाले बोकेका दुईओटा सुटकेसमा दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोट फेलापरेको हो।

पाकिस्तानीहरुलाई लिन आफ्नो साला सोहेल खान र ड्राइभर सुजन रानाभाटसहित विमानस्थल पुगेका युनुस अन्सारी पनि विमानस्थलबाटै पक्राउ परेका हुन्। विमानस्थलबाट नक्कली भारुसहित पक्राउ परेकाहरुलाई प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको हो । पूर्वमन्त्री सलिममियाँ अन्सारीका छोरा युनुस अन्सारी यसअघि पनि नक्कली भारु कारोबारमा र लागुऔषध मुद्दामा पक्राउ परी जेल बसिसकेका व्यक्ति हुन्।

प्रकाशन मिति–२०७६ साल जेठ १० गते शुक्रवार ।