काठमाडौ। नेपाली मिडियामा एउटा तहल्का नै हुने भएको छ–मिडिया फेस्टिभल। नेपाली मिडियाको कुम्भ मेला नै यो फे्स्टिभल हुने निश्चित भएको छ। फेस्टिभल यही पुस २२ गते हुन गैरहेको छ। जसको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूले पाटनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार भन्ने मूल नाराका उक्त मिडिया फेस्टिभल हुन लागेको हो। ललितपुरको ऐतिहासिक नगरी पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सो फेस्टिभल गर्ने करिब–करिब अन्तिम तयारीमा पुगेको आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूले जनाएको छ।

मिडियाको क्षेत्रमा यो फेस्टिभल नेपालमा नै पहिलो पटक हुन लागेको आयोजकहरुको दाबी रहेको छ। नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरु, पत्रकारिता क्षेत्रका विज्ञ, समावेशी सञ्चारसंगै प्रत्यक्ष सरोकार राख्ने विविध सामुदायिक संघसस्थाका प्रतिनिधिहरु सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस र छलफल गर्ने उद्देश्यले यस फेस्टिभलको परिकल्पना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको भनाई रहेको छ।

मिडिया फेस्टिभल—११३८ का संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालको सञ्चारमाध्यम समावेशी हुनुपर्ने मान्यताले प्रेरित भएर फेस्टिभल आयोजना गर्न लागेको बताएका छन्। संयोजक श्रेष्ठले भिन्न विचार र सोचलाई निषेध नगरीकन सबै खाले विचार अटाउनुपर्ने सन्देश यस फेस्टिभलले गर्ने दावी गरेका छन्।

महोत्सवको उदघाटन विसं.२००९ सालमा कलाकार नामक पत्रिकामा नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा पत्रकारिता गरेर समावेशी पत्रकारिताको उदाहरण पेश गरेका वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीबाट हुने भएको छ। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई औपचारिक मान्यता दिनुपर्ने उद्देश्यअनुरुप श्रेष्ठको तस्वीर तथा धर्मादित्य धर्माचार्यको तस्वीर अंकित क्यालेण्डरको लोकार्पण पनि गरिने आयोजकले भनेको छ।

फेस्टिभल अवधिभर विविध भाषाबाट प्रकाशन हुँदै आएका पत्रपत्रिका तथा नेपाल भाषाबाट प्रकाशित पत्रपत्रिका, बन्द भइसकेका पुराना पत्रिकाहरु, टेलिभिजन, एफएम लगायतका करिब ३५ वटा स्टल रहने भएको छ । सोही समारोहमा डायरी प्रकाशन र नेपाल भाषाको पुराना पत्रकारहरुको जीवनी रहेको बुलेटिनको पनि लोकार्पण गरिने बताइएको छ।

फेस्टिभलमा नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, मधेशी पत्रकार समाज, नेपाल प्रेस काउन्सिल लगायत सञ्चार क्षेत्र सम्बद्ध संघसंस्थाहरुको पनि सहभागी रहने भएको छ।
प्रकाशन मिति–२०७४ साल पुष १८ गते मंगलवार ।