Newa Pustak Pradashaniकाठमाडौ। नेपालभाषा एकेडेमीको आयोजनामा दुई दिने नेवाः सफू ब्वज्या अर्थात पुस्तक प्रदर्शनी संपन्न भएको छ। ललितपुरको उग्रचण्डी माई मन्दिर परिसरको ताम्रकार समाज भवन भित्र उक्त प्रदर्शनी भएको हो।

ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले शुक्रवार उद्घाटन गरेपछि प्रदर्शनीको शुभारम्भ भएको र शनिवार संपन्न भएको आयोजक समितिले जनाएको छ। प्रदर्शनीको औपचारिक कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरन्जन नेपाली, शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशी र प्रदर्शनीका संयोजक बिजयरत्न असंबरेले मन्तव्य राखेका थिए। बक्ताहरुले नेवाः पुस्तकहरु पाठकवर्ग सम्म पुर्याइ पुस्तकको बजार विकास गर्नुपर्नेमा जोड दिएका थिए।

उद्घाटन पश्चात मेयर महर्जन तथा उपमेयर गीता सत्यालले प्रदर्शनी अवलोकनका साथै कयौं नेवाः सभ्यता र संस्कृति सम्बन्धि करीव पाँच हजार रुपैया बरावरका पुस्तकहरु समेत खरिद गरेका थिए। संयोजक बिजयरत्न असंबरेका अनुसार निशुल्क प्रवेशसहित आयोजना गरिएको सो दुर्इ दिने प्रदर्शनीको करीव २ हजार ५ सय जनाले अवलोकन गरेका थिए। उनका अनुसार प्रदर्शनीमा राखिएका नेपालभाषा बाहेक अंग्रेजी भाषामा प्रकाशित नेवाः साहित्य, संस्कृति लगायत बौद्ध धर्म सम्बन्धित पुस्तकहरु मध्ये नेवाः चाडपर्व र संस्कृतिका पुस्तकहरु बढी विक्री भएको पाइएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।