काठमाडौं। दुई साताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएका १ सय २२ चिनियाँ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको छ। दिनभरि उनीहरूको बयान लिएपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरूले अभद्र व्यवहार गरेको ठहर गर्दै जरिबानाको फैसला सुनाएका हुन्।

उनीहरूमाथि लगाइएको अभद्र व्यवहारको मुद्दामा अधिकतम १० हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था रहेको छ। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, अभद्र व्यवहारमा कसुर गरेको पुष्टि हुन आएकाले जनही एक हजार रुपैयाँ जरिबाना गरी फैसला गरिएको हो। जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र बसेर फैसला गरेको प्रमुख जिल्ला अधिकारी दाहालले भनेका छन्।

प्रहरीले उनीहरूले नेपालको अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपसम्बन्धी पत्र आइतवार नै अध्यागमन विभागलाई बुझाएको छ। पहिला साइबर अपराधमा संलग्न भएको भनिएपनि पछि उनीहरूलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
पक्राउ परेका आधाभन्दा बढी व्यक्तिसँग पासपोर्ट नै नभएको बताइएको छ।

उनीहरुले अध्यागन कानुनको पनि उल्लङ्घन गरेका छन्। अध्यागमन कानुन उल्लङ्घन गर्दा विभिन्न खालको सजायको व्यवस्था छ। तर प्रहरीले कस्तो कसुर गरेको छ भनेर ल्याउँछ त्यसअनुसार कारबाही हुने अध्यागमन अधिकारीहरूको भनाइ छ। उनीहरूका अनुसार कानुनबमोजिम जरिबाना हुने र जरिबाना तिर्नेलाई स्वदेश फिर्ता पठाइने तर, तिर्न नसक्नेलाई कारागार चलान गरिनेछ।
प्रकाशन मिति–२०७६ साल पुस २० गते आइतवार ।